हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ मा उम्मेदवारी दिएका एक उम्मेदवारले मतदाताको राय संकलन गर्न क्यूआर कोड सार्वजनिक गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले सामाजिक सञ्जालमार्फत क्यूआर कोड सार्वजनिक गर्दै मतदाताबाट सुझाव, प्रतिक्रिया र प्राथमिकताका विषय संकलन गर्ने उद्देश्य राखिएको बताएका छन्। उक्त क्यूआर कोड मोबाइलमार्फत स्क्यान गरेपछि मतदाताले आफ्ना राय र सन्देशहरू प्रत्यक्ष रूपमा पठाउन सक्ने व्यवस्था गरिएको छ।
‘उन्नत विकाससहितको विकल्प’ भन्ने मूल नारासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका उप्रेतीले मतदाताबाट प्राप्त रायलाई आफ्नो चुनावी एजेन्डा तय गर्ने आधार बनाइने जनाएका छन्। प्राप्त सुझावका आधारमा निर्वाचन क्षेत्रमा पुगेर संवाद र छलफललाई प्राथमिकता दिने उनको भनाइ छ।
उप्रेती यसअघि नयाँ शक्ति पार्टी नेपालसँग आबद्ध रहेका थिए। बाबुराम भट्टराई र जर्नादन शर्माबीच राजनीतिक एकता भएपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दिएका हुन्। उनी नयाँ शक्ति पार्टीका संस्थापक सदस्यसमेत रहेका थिए भने समाजवादी पार्टीको जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन्।
निर्वाचन नजिकिँदै जाँदा मकवानपुर–१ मा विभिन्न उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष र प्रविधिमार्फत संवाद गर्ने प्रयासलाई तीव्र बनाउँदै लगेका छन्।



































































