हेटौंडा । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–२ मा उम्मेदवारी दिएका नेकपा एमालेका महेश बर्तौलाले सोमबार बिहान हेटौंडाबाट आफ्नो चुनावी गतिविधि सुरु गरेका छन्।
हेटौंडा उपमहानगरपालिका–३, बसामाडीस्थित जम्बु चौतारीमा बस्दै आएकी १०४ वर्षीया कालिमाया मोक्तानबाट आशिर्वाद ग्रहण गर्दै उनले अभियानको सुरुवात गरेका हुन्। राक्सिराङ गाउँपालिका स्थायी घर भएकी मोक्तान परिवारसहित अस्थायी रूपमा बसामाडीमा बस्दै आएकी छन्। सो अवसरमा मोक्तानले टीका, माला र खादा लगाइदिँदै शुभकामना दिएकी थिइन्।
कार्यक्रममा बोल्दै बर्तौलाले अघिल्लो कार्यकालमा सुरु भएका केही योजनाहरू संसद विघटनका कारण पूरा हुन नसकेको उल्लेख गर्दै ती योजनालाई अघि बढाउन पुनः अवसर दिन मतदातासँग आग्रह गरे।
त्यस अवसरमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै मतदाताले विचार पुर्याएर मतदान गर्नुपर्ने बताए। उनले पछिल्लो समय फैलिएका भ्रम चिर्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठकले उम्मेदवारको अघिल्लो कार्यकालको संसदीय भूमिकालाई आधार मानेर मतदाताले निर्णय गर्नुपर्ने धारणा राखिन्।
औपचारिक सुरुवातपछि निर्वाचन आचारसंहिता अनुसार व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिइने बर्तौलाले जानकारी दिए। निर्वाचन कार्यालयको निर्देशनअनुसार फागुन ४ गतेअघि ठूला सभा तथा आमसभा नगर्ने पनि उनले बताए।
बर्तौला २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।



































































