हेटौँडा । ज्ञानदिप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदिप शिक्षा निकेतन माध्यमिक विद्यालयले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ज्ञानदिप रजत महोत्सव २०८२ मनाउने भएका छन् ।
सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सहकारी तथा विद्यालयले माघ ८ गतेदेखि १८ गतेसम्म विभिन्न शैक्षिक, खेलकुद तथा सामाजिक कार्यक्रमसहित रजत महोत्सव मनाइने जानकारी गराएका हुन् । सहकारीका सचिव लिलानाथ ढुंगेलका अनुसार महोत्सवअन्तर्गत माघ ८ गते जिल्ला स्तरीय छात्रा बुद्धिचाल प्रतियोगिता आयोजना गरिनेछ ।
त्यसैगरी माघ ९ र १० गते हेटौँडा उपमहानगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता, माघ १० गते नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुनेछ । अभिभावक तथा शेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता माघ ९ र १० गते हुने सचिव ढुंगेलले जानकारी दिनुभयो ।
माघ ९ गते नगरस्तरीय स्थलगत चित्रकला तथा स्थलगत निबन्ध लेखन प्रतियोगिता, माघ ११ गते ज्ञानदिप समुदाय सहयोग कार्यक्रम र माघ १८ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ । यसैबीच विद्यालयले माघ ११ गतेदेखि १४ गतेसम्म विद्यालयको प्राङ्गणमा ज्ञानदिप खेलकुद सप्ताह पनि सञ्चालन गर्ने भएको छ ।
महोत्सवको औपचारिक उद्घाटन माघ १६ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको छ । माघ १७ गते सांस्कृतिक कार्यक्रम तथा माघ १८ गते समापन समारोह आयोजना गरिनेछ ।
हाल विद्यालयमा १ हजार ४ सय ९० जना विद्यार्थी अध्ययनरत् रहेका छन् । रजत महोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थीलाई ‘ज्ञानदिप रजत’बाट सम्मान गरिने पनि सचिव ढुंगेलले जानकारी दिनुभयो । महोत्सवका लागि अनुमानित खर्च २१ लाख रुपैयाँ रहेको छ ।
ज्ञानदिप सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, विद्यालयका प्रिन्सिपल ईश्वर लामिछाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



































































