हेटौँडामा लहरी ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको रातोमाटे चार्जिङ पोइन्ट नजिकै आज बिहान भएको लहरी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालका अनुसार बिहान साढे २ बजेतिर भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीका लागि कोइला बोकी हेटौँडातर्फ आइरहेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक ब्रेकफेल भई अनियन्त्रित भएर सडकको दाहिने किनारमा पल्टिएको थियो।

दुर्घटनापछि प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य थालेका थिए। ट्रक पल्टिँदा चालक र सहचालक दुवै गाडीभित्र च्यापिएका थिए। बिहान ४:४५ बजे प्रहरी टोली र दुई वटा क्रेनको सहयोगमा चालक र सहचालकलाई गाडीबाट निकालेर हेटौँडा अस्पताल पठाइएको थियो।

तर, गम्भीर घाइते भएका ट्रक चालक भारत गाजीपुर, पुरैनियाका अन्दाजी ४५ वर्षीय महेन्द्र यादवको बिहान ५:४५ बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले जानकारी दिए। यस्तै, ट्रकका सहचालक भारत गाजीपुरकै अन्दाजी २६ वर्षीय मनोज यादव सामान्य घाइते भई हेटौँडा अस्पतालमा उपचाररत रहेको बताइएको छ।

मृतक चालकको शव हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ भने दुर्घटनाग्रस्त ट्रकलाई सडकबाट हटाएर साइडमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताएका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.