हेटौंडा । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्ष्य बनाउँदै होटल संघ पोखराको टोली बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ। “जाउँ है पोखरा” अभियानअन्तर्गत देशका विभिन्न सहरमा कार्यक्रम गर्दै आएको टोलीले शुक्रबार हेटौंडामा अन्तिम अन्तरक्रिया सम्पन्न गरेको हो।
हेटौंडा–२ स्थित होटल एभोकार्डो मा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाबीच आन्तरिक पर्यटनको अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा होटल एशोसिएसन मकवानपुर र पोखराका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
टोलीले वीरगञ्ज, विराटनगर र इलाम हुँदै हेटौंडासम्म पुगेर अभियान सञ्चालन गरेको हो। हेटौंडाको कार्यक्रमलाई यस अभियानको समापन कार्यक्रमका रूपमा आयोजना गरिएको जनाइएको छ।
कार्यक्रम लक्ष्मण सुवेदी को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भिडियो प्रस्तुतीमार्फत पोखराको पर्यटन सम्भावना उजागर गरिनुका साथै आन्तरिक पर्यटक वृद्धि गर्न सकिने उपायहरूबारे छलफल गरिएको थियो।
सहभागीहरूले हालको पर्यटन प्रवर्द्धनमा देखिएका कमजोरीहरू औंल्याउँदै सुधारका उपायहरू सुझाएका थिए। साथै, देशभित्रै पर्यटन प्रवाह बढाउन समन्वयात्मक पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।



































































