हेटौँडा । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व चयन प्रक्रिया नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ। २०५६ सालमा २६ जना मिलेर स्थापना गरेको यो सहकारी अहिले हेटौँडाको ठूलो वित्तीय कारोबार गर्ने पुराना र स्थापित संस्थामध्ये एकका रूपमा परिचित छ। संस्थाले चैत १३ गते नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
हेटौँडा–७ मा केन्द्रीय कार्यालय रहेको सहकारीको अध्यक्ष पदका लागि संस्थापक अध्यक्ष रामशरण गौतमले उम्मेदवारी दिने संकेत गरेसँगै चुनावी माहोल थप चासोको विषय बनेको हो। सहकारी स्थापना कालदेखि करिब दुई दशक व्यवस्थापकको जिम्मेवारी सम्हालेका गौतमले अध्यक्ष बन्ने उद्देश्यसहित व्यवस्थापक पदबाट राजीनामा दिएका छन्।
हाल सहकारीमा करिब ७ हजार ४ सय सदस्य आबद्ध छन्। तीमध्ये वडा नम्बर ७ का मात्रै करिब २ हजार ८ सय सदस्य मतदाता रहेकाले गौतमलाई अनुभव, संस्थापक पहिचान र मतदाताको आधारका हिसाबले बलियो दाबेदारका रूपमा हेरिएको छ। उनी २०५४ सालमा नेकपा (एमाले) बाट वडाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन्।
गौतमले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र परिपक्व बनाउने लक्ष्यसहित आफू नेतृत्वमा आउन चाहेको बताएका छन्। सदस्यहरूको आग्रह र विश्वासका आधारमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।
सहकारीले हेटौँडा–७ बाट सेवा सञ्चालन गर्दै अन्य वडाहरूमा पनि कारोबार विस्तार गरिरहेको छ। हेटौँडा बजारसहित वडा नम्बर ६, ७, ८, ९ र १५ देखि १८ सम्मका सदस्यहरू संस्थामा आबद्ध छन्। आगामी निर्वाचनमा करिब ४ हजार ५ सयभन्दा बढी सदस्यले मतदान गर्ने अपेक्षा गरिएको छ, जसले सहकारीको चुनावलाई स्थानीय तहकै ‘मिनी निर्वाचन’ जस्तै बनाउने देखिन्छ।
आर्थिक पक्षमा पनि सहकारी सुदृढ देखिएको छ। अघिल्लो आर्थिक वर्षमा संस्थाले ५९ करोड १६ लाख ६५ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल सम्पत्ति ७२ करोड रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै, जगेडा कोषमा ४ करोड ११ लाख ७७ हजार रुपैयाँ रहेको छ र अघिल्लो वर्षको तुलनामा कुल सम्पत्तिमा ६.४० प्रतिशत वृद्धि भएको देखिन्छ।
गत पुसमा सम्पन्न साधारण सभाले चैत १३ गते निर्वाचन मिति तय गरेको थियो। अधिकांश पदमा मनोनयन प्रक्रिया अगाडि बढिसकेको छ भने अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजक पदका लागि चैत ८ गते मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।































