मकवानपुरमा ४० दिन सेवा गरेका १,९२३ निर्वाचन प्रहरी बिदा

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरी बिहीबारबाट बिदा भएका छन्।

निर्वाचन सुरक्षामा खटिन मकवानपुरमा नेपाल प्रहरीतर्फबाट १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिएको थियो। राज्यले दिएको जिम्मेवारी निर्वाह गर्दै उनीहरूको कार्यअवधि पूरा भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–४ स्थित हुप्रचौरमा बिदाइ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्री तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको उपस्थितिमा निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले निर्वाचन प्रहरीको जिम्मेवारीबाट बिदा भए पनि बिना बर्दी पनि राष्ट्रसेवकको भावनासहित जिम्मेवार नागरिकका रूपमा रहन आग्रह गरे।

उनले ४० दिनको अवधिमा सिकेका अनुशासन, जिम्मेवारी र सेवाभावलाई व्यक्तिगत जीवन, परिवार तथा समाजमा समेत व्यवहारमा उतार्न सुझाव दिए। आवश्यक परे जिल्ला सुरक्षा समितिले नेपाल सरकारको निर्णयअनुसार पहिलो प्राथमिकतामा पुनः निर्वाचन प्रहरीलाई नै परिचालन गर्न सक्ने पनि उनले उल्लेख गरे। नागरिकका रूपमा रहँदा मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी बोकेर अघि बढ्न उनले आग्रह गरे।

यसैबीच निर्वाचनमा खटिएका प्रहरीले आफूहरूले पाएको जिम्मेवारीलाई राज्य सेवा गर्ने अवसरका रूपमा लिएको बताएका छन्। उनीहरूका अनुसार निर्वाचन प्रहरी दण्ड दिने निकायभन्दा पनि नागरिकलाई जिम्मेवार बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने टोलीका रूपमा काम गरेको थियो। तालिममा सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गरेको उनीहरूको भनाइ छ। साथै आफूहरूले पाउनुपर्ने सेवा–सुविधा समयमै उपलब्ध हुनुपर्ने माग पनि उनीहरूले गरेका छन्।

निर्वाचन सुरक्षाकै क्रममा मकवानपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको थियो। हेटौँडा–८ कर्रा पुल नजिकै सुरक्षामा खटिएका रौतहटको विजयपुर नगरपालिका–७ का पवन साहलाई फागुन १८ गते योद्धा पिकअप गाडीले ठक्कर दिँदा मृत्यु भएको हो। मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले मृतक साहका परिवारलाई कानूनबमोजिम उपलब्ध हुने क्षतिपूर्ति प्रदान गरिने जानकारी दिएका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.