हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुदलाई व्यापार–व्यवसायसँग जोडेर सञ्चालन गर्नु उचित नहुने बताउँदै खेलकुद विकास समितिहरूलाई आफ्नो मूल उद्देश्यअनुसार काम गर्न आग्रह गरेका छन्।
जिल्ला खेलकुद समिति मकवानपुरको आयोजनामा हेटौँडा–१० टिसिएन चौरमा शुक्रबारदेखि सुरु भएको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रलाई व्यवस्थित र उद्देश्यकेन्द्रित ढंगले अघि बढाउनुपर्ने बताए। उनले खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले प्रदेश गौरवको योजनाका रूपमा अघि बढाइएको गौरीटार रंगशालामा थप खेल पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार करिब एक अर्ब रुपैयाँ लागतमा रंगशालालाई अत्याधुनिक संरचनासहित विस्तार गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको छ। उनले खेलाडीहरू समाज र देशकै गौरव भएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
उनले फागुन २१ गते सम्पन्न निर्वाचनबाट देशले नयाँ जनादेश प्राप्त गरेको उल्लेख गर्दै जनभावनालाई सम्बोधन गर्दै पर्यटन, कृषि र खेलकुद क्षेत्रको विकासमा आगामी संघीय सरकारले विशेष ध्यान दिने अपेक्षा व्यक्त गरे। साथै संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
१५ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रमअनुसार फागुन २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, चैत १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन गरिनेछ।
महोत्सव अन्तर्गत आयोजित १० किलोमिटर दौड प्रतियोगितामा विजयी खेलाडीहरूलाई मुख्यमन्त्री बानियाँले प्रमाणपत्र प्रदान गरेका थिए।
खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ।
महोत्सवबाट बचत हुने रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवन निर्माण तथा खेल सामग्री खरिदमा खर्च गर्ने लक्ष्य राखिएको छ। साथै खेल क्षेत्रमा योगदान पुर्याएका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौँडा–११ का वडा अध्यक्ष जुना दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



































































