हेटौँडा । अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्दै आएको एजी एक्सप्रेसले मकवानपुरको हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको उद्घाटन बुधबार पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै सिंहले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता सेवाको ठूलो भूमिका रहने बताए। मकवानपुरका घरेलु उद्योग तथा महिला समूहहरूले उत्पादन गर्ने वस्तुहरू गुणस्तरीय बनाउन सके सहजै विदेशसम्म पठाउन सकिने भन्दै उनले एजी एक्सप्रेसमार्फत् ती सामान विश्व बजारसम्म पुग्ने विश्वास व्यक्त गरे।
उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछि बनेको सरकारबारे पनि टिप्पणी गर्दै नेपाली जनताले अत्यधिक मत दिएर निर्माण गरेको सरकारप्रति शुभकामना व्यक्त गरे। नेपालको इतिहासमा अहिलेको राजनीतिक परिस्थिति आफूले पहिले नदेखेको खालको भएको उनको भनाइ थियो।
कार्यक्रममा एजी एक्सप्रेसका ग्लोबल सीईओ तथा अध्यक्ष तुलसी उप्रेतीले हेटौँडा शाखामार्फत् मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको कुरियर सेवा उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार हङकङबाट सुरु भएको कम्पनी अहिले विश्वका विभिन्न महादेशमा विस्तार हुँदै आएको छ। हेटौँडामा खुलेको शाखा कम्पनीको १६औँ शाखा हो।

उप्रेतीले एजी एक्सप्रेसले नेपाली तथा प्रवासी नेपाली समुदायलाई लक्षित गरी सेवा विस्तार गरिरहेको उल्लेख गर्दै यसको उद्देश्य केवल पार्सल ढुवानी गर्नु मात्र नभई नेपाली उत्पादन र समुदायलाई विश्वसँग जोड्नु रहेको बताए।
कम्पनीका अनुसार हस्तकला, मसला, लत्ताकपडा, खाद्यान्न लगायत नेपाली उत्पादन विदेशमा रहेका नेपालीसम्म पुर्याउन एजी एक्सप्रेस प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ। यसले गाउँघरका साना उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।
उप्रेतीले कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) तथा अग्रिम कर कट्टी (टीडीएस) पारदर्शी रूपमा बुझाउँदै राष्ट्र निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे। नेपाल सरकारलाई राजश्व संकलनमा सहयोग पुर्याउने, प्रविधियुक्त प्रणालीमार्फत मूल्य अभिवृद्धिकर भ्याट, ट्याक्स, अग्रिम करकट्टि गर्ने सम्बन्धमा आफुहरु प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ । राष्ट्रप्रतिको कर्तव्य मात्रै नभई समृद्धि नेपालको पनि आफुहरुको कदम भएको प्रबन्ध निर्देशक उप्रेतीले बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नविन सिग्देल, कुरियर संघ नेपाल बागमती प्रदेश निवर्तनमान अध्यक्ष बिनोद बहादुर पाख्रिन, जिल्ला अध्यक्ष रामप्रसाद पुडासैनी, कुरियर सल्लाहकार विष्णु कार्की, कम्पनीका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



































































