पराजुली भन्छन् : ‘बोल्नै नपाइने पार्टीमा बस्न सकिनँ’

हेटौंडा — मकवानपुरको राजनीतिक वृत्तमा बुधबार एक महत्वपूर्ण मोड देखियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति पदबाट अलगिएका भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो निर्णय सार्वजनिक गर्दै रास्वपा त्याग्नुका कारण खुलाए।

पराजुलीले रास्वपाभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर रहेको र केन्द्रीय नेतृत्वबाहेक अन्य तहका नेता–कार्यकर्तालाई स्वतन्त्र रूपमा धारणा राख्न सहज वातावरण नभएको दाबी गरे। उनका अनुसार पार्टी संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन हुन नसकेको र बहस–संवादको संस्कार संस्थागत हुन नसक्दा आफू निराश बनेका थिए। “सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिए पनि व्यवहारमा त्यो अनुभूति भएन,” उनले भने, “निर्णय प्रक्रियामा पारदर्शिता थिएन, जनमूल्यांकनको प्रणाली पनि त्रुटिपूर्ण लाग्यो।”

उनले थपे, पुराना दलको आलोचना गर्ने भाषणभन्दा अघि बढेर देश बनाउने ठोस योजना, स्पष्ट सिद्धान्त र दीर्घकालीन दृष्टिकोण प्रस्तुत हुन नसक्नु आफूलाई सबैभन्दा बढी खट्किएको पक्ष थियो। पार्टीभित्र काम गर्दै जाँदा अपेक्षित वैचारिक स्पष्टता र संस्थागत परिपक्वता नदेखेपछि अन्ततः आफू निष्कर्षमा पुगेको उनले बताए।

कांग्रेस छोडेर रास्वपामा जानु आफ्नो राजनीतिक जीवनको एउटा भूल भएको स्वीकार गर्दै पराजुलीले आत्मालोचना पनि गरे। “कांग्रेसमा कमजोरी थिए, तर भित्रै बसेर सुधारका लागि संघर्ष गर्नुपर्ने रहेछ,” उनले भावुक हुँदै भने, “रिसमा बाहिरिएँ, अहिले सम्झिँदा पछुतो लाग्छ।” कांग्रेसको खुला बहस र संवादको संस्कारमा हुर्किएको आफूलाई रास्वपाको कार्यशैलीसँग तालमेल मिलाउन कठिन भएको उनको अनुभव छ।

वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले विशेषगरी गगन थापा नेतृत्वमा युवापुस्ताको सक्रियता र सुधारको संकेत देखिएको बताए। “सुध्रँदै गएको कांग्रेसले देशलाई सही दिशा दिन सक्छ भन्ने विश्वासका साथ म पुनः पार्टीमा फर्किएको हुँ,” उनले स्पष्ट पारे।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ बाट रास्वपाका उम्मेदवार बनेका पराजुलीले प्रत्यक्षतर्फ १४ हजार मत प्राप्त गरेका थिए, जसमध्ये १२ हजार ५९ मत सदर भएको थियो। उनको कांग्रेस प्रवेशसँगै उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार बुद्ध लामालाई संगठनात्मक तथा मतगत रूपमा सहयोग पुग्ने आकलन गरिएको छ।

पराजुलीको पुनरागमनले मकवानपुरको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अब आगामी दिनका गतिविधि र चुनावी रणनीतिले तय गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.