हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले २५ औँ वार्षिक उत्सव (रजत महोत्सव) मनाएका छन्।
विद्यार्थीका विज्ञान प्रदर्शनी, प्रभातफेरी, सम्मान तथा सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रम गरी महोत्सव मनाइएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए।

मुख्यमन्त्री बानियाँले शिक्षा मर्यादित, नैतिकवान र समयको वेगसँगै चल्न सक्ने व्यवहारिक तथा आयमूलक हुनुपर्ने बताए। उनले अहिले नयाँ प्रविधि एआईले धेरै विषयलाई सहज बनाएको भए पनि यसको दुरुपयोग गर्नेहरू पनि रहेको उल्लेख गर्दै, त्यस्ता कुरालाई चिनेऱ सचेत रूपमा अघि बढ्ने शिक्षाको विकास आवश्यक रहेको बताए।

मूल समारोह समितिका संयोजक तथा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष सुशील घिमिरे, ज्ञानदीप बहुउद्देश्यीय सहकारीका सदस्य–सचिव तथा मूल समारोह समिति सचिव डा. लिलानाथ ढुङ्गेल, ज्ञानदीप शिक्षा निकेतनकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमिला सापकोटा, निकेतनका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछानेलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम १८ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।



































































