युवामाझ लागुपदार्थ दुर्व्यसन बढ्दै, विद्यालय केन्द्रित सचेतना अभियान तीव्र

हेटौँडा । मकवानपुरको एक ग्रामीण क्षेत्रमा युवावर्गमा लागुपदार्थ सेवनको समस्या बढ्दो रूपमा देखिन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगरतर्फ युवाहरू आकर्षित हुँदै गएको बताइएको छ ।

कैलाश गाउँपालिका–९ स्थित एक माध्यमिक विद्यालयमा आयोजित लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनामूलक कार्यक्रममा बोल्दै स्थानीय नेतृत्वले लागुपदार्थ प्रयोगले स्वास्थ्य, सामाजिक जीवन र कानुनी अवस्थासमेत गम्भीर असर पार्ने उल्लेख गर्नुभयो । चुरोट–खैनीबाट सुरु भएको कुलत क्रमशः गाजा हुँदै ब्राउन सुगरसम्म पुग्ने अवस्था देखिन थालेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पछिल्लो समय किशोरसँगै किशोरीहरू पनि प्रयोगकर्ताको रूपमा देखिन थालेकोप्रति चिन्ता व्यक्त गरियो । लागुपदार्थ उत्पादन हुने कच्चा पदार्थकै क्षेत्रमा गाउँपालिका चिनिनु चुनौतीपूर्ण रहेको भन्दै त्यसको न्यूनीकरणका लागि बालबालिका, विद्यार्थी र अभिभावक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिइयो ।

गाँजा र अफिम खेतीको विकल्पमा तरकारी तथा अन्य उत्पादनमूलक बाली लगाउनुपर्नेमा जोड दिँदै सकारात्मक सोचको विकासमार्फत युवालाई कुलतबाट जोगाउन सकिने विश्वास व्यक्त गरिएको थियो । “सकारात्मक सोच गरौँ, कुलतमा नफसौँ” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा तथा पुनर्स्थापना क्षेत्रमा सक्रिय संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार गाउँपालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसैक्रममा सोही दिन अर्को विद्यालयमा समेत कार्यक्रम सम्पन्न गरिएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.