हेटौंडा । डी.एल.ए. मकवानपुरले बागमती प्रदेश सरकारकी नवनियुक्त मुख्य न्यायाधीवक्ता अधिवक्ता अप्सरा बस्नेतलाई स्वागत गर्दै शुभकामना प्रदान गरेको छ।
डी.एल.ए. मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभाध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अधिवक्ता बस्नेतलाई औपचारिक रूपमा शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बस्नेतलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरेका थिए। अधिवक्ता बस्नेत डी.एल.ए. मकवानपुरकी सदस्य समेत हुन्।
बस्नेतलाई बागमती प्रदेश सरकारको मुख्य न्यायाधीवक्तामा पौष ६ गते नियुक्त गरिएको थियो भने उनले पौष ८ गते प्रदेश प्रमुख कार्यालय, हेटौंडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सपथ ग्रहण गरेकी थिइन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद अर्याल र ईश्वरराज ढकाल तथा डी.एल.ए.का सदस्य अधिवक्ताहरू राधाकृष्ण मैनाली, सुबासचन्द्र अधिकारी, कृष्णप्रसाद छत्कुली, पंकज अधिकारी, राजु गौतम, श्रद्धा ढुंगाना, कृष्णप्रसाद भण्डारी, रमा कुमारी चौलागाईं, पम्फा पुरीलगायतको उपस्थिति रहेको थियो।





























