हेटौंडा। शिक्षामा नयाँ प्रयोग सुरु गरेपछि विद्यार्थीहरूको पठनपाठनमा उल्लेखनीय सुधार आएको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले बताएका छन्।
हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडा अन्तर्गत नवलपुरमा रहेको उक्त विद्यालयले अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षक/शिक्षिका र विद्यार्थीबीच मूल्यांकन सहमति फाराम, दैनिक कक्षा सञ्चालन तथा शिक्षण समय अभिलेख, दैनिक कक्षागत विद्यार्थी क्रियाकलाप फाराम भर्ने र नियमित रेकर्ड राख्ने जस्ता गतिविधि लागू गरेको छ। यी प्रणाली लागू भएपछि शिक्षक/शिक्षिका र विद्यार्थी दुवैको क्रियाकलापमा सकारात्मक सुधार आएको प्रशासनिक सहप्रधानाध्यापक शर्मिला ढकालले जानकारी दिइन्।
नयाँ प्रणाली लागू गरेपछि विद्यार्थीहरूको पठनपाठन क्रमशः सुधार हुँदै गएको शैक्षिक सहप्रधानाध्यापक बैकुण्ठ नेपालको मूल्यांकन छ। कक्षा ९ का विद्यार्थी तथा विद्यालय क्याप्टेन सागर न्यौपानेले भने, “यो प्रयोग हामी विद्यार्थीको हितमा छ। यसले विद्यालय र कक्षामा अनुशासन बढाएको छ, लक्ष्यप्रति कटिबद्ध हुन सिकाएको छ र घर तथा विद्यालय दुवै स्थानमा पढ्नुपर्छ भन्ने भावनाको विकास गराएको छ।”

विद्यालयले यो नयाँ प्रयोग कक्षा ४ देखि १२ सम्म लागू गरेको छ। गत वर्ष ६१ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा १७ जना मात्र उत्तीर्ण भएका थिए। यस वर्ष भने ६४ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन्। सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विश्वासका साथ विद्यालय अघि बढिरहेको प्रधानाध्यापक बर्तौलाले बताए।
विद्यालयले नियमित रूपमा कक्षागत परीक्षा सञ्चालन गर्ने, प्रधानाध्यापकसहित शिक्षक/शिक्षिकाले विद्यार्थीको घरमै पुगेर अभिभावक तथा विद्यार्थीसँग भेटघाट गरी घर र विद्यालयका गतिविधिबारे छलफल गर्ने तथा समय–समयमा अभिभावक भेला आयोजना गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।

सहप्रधानाध्यापक ढकालका अनुसार विद्यालयमा विद्यालय नर्सले सकेसम्म विद्यार्थीलाई जङ्क फुड खान नदिने व्यवस्था गरिएको छ। त्यसको सट्टा चिउरा, तरकारी, चना जस्ता उपलब्ध स्वास्थ्यकर खाद्यवस्तु खान प्रोत्साहन गरिन्छ। साथै, चाँडै नै विद्यार्थीमध्येबाट एक जनालाई स्वास्थ्य क्याप्टेन नियुक्त गर्ने तयारी भइरहेको छ, जसले बालबालिकाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउनेछ।
विद्यालयमा सञ्चालन गरिएका यस्ता गतिविधिले विद्यार्थीलाई अनुशासित बनाउनुका साथै शिक्षक/शिक्षिकामा समेत थप जिम्मेवारीबोध गराएको प्रधानाध्यापक बर्तौलाको बुझाइ छ।




































































