हेटौँडा । हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत मानसचोकदेखि पिपलबोटसम्मको सडक खण्ड कालोपत्र गरिएको छ ।
हेटौंडाको अत्यन्त संवेदनशील तथा महत्वपूर्ण क्षेत्र मानिने यस सडक खण्डमा मुख्यमन्त्रीको कार्यालय र निवास, विभिन्न मन्त्रालयहरू, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, वडा नं. २ को कार्यालयलगायतका प्रमुख सरकारी निकायहरू अवस्थित छन् । लामो समयदेखि सडक ठाउँ–ठाउँमा भत्किएको, खाल्डाखुल्डी परेको र धुलो–हिलोका कारण सर्वसाधारण तथा सवारीसाधनलाई आवागमनमा समस्या हुँदै आएको थियो ।

सडक स्तरोन्नतिका लागि अघिल्ला समयमा विभिन्न बाधा तथा अड्चन देखिए पनि यसपटक भने मानसचोकदेखि पिपलबोटसम्मको सडक कालोपत्र (पिच) सम्पन्न गरिएको वडा नं. २ को कार्यालयले जनाएको छ । सडक कालोपत्र भएसँगै आवागमन सहज हुनुका साथै कार्यालय सेवाग्राही र स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।



































































