मकवानपुर । युवा संघ नेपाल (समाजवादी) को जिल्ला कमिटी पुनर्गठन गर्ने उद्देश्यले एक विशेष भेला सम्पन्न भएको छ। भेला युवा नेता रोशन बलको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा पार्टीकी केन्द्रीय सदस्य मिना कुमारी लामा, केन्द्रीय सल्लाहकार यादव गजुरेल तथा प्रदेश कमिटी सदस्य रामेश कुमार राईको उपस्थिति रहेको थियो। यस्तै पार्टी जिल्ला कमिटी पदाधिकारी, सचिवालय सदस्य, नगर तथा वडास्तरका प्रतिनिधि, युवा नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भेलामा बोल्दै प्रमुख अतिथि सिग्देलले युवाहरू नै समाज परिवर्तनका मुख्य संवाहक भएको बताउँदै संगठनलाई अझ सशक्त र अनुशासित बनाएर स्थानीय स्तरमा जनताको पक्षमा संघर्ष गर्न आग्रह गरिन् । अध्यक्ष रोशन बलले युवा संघलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै संगठन विस्तारमा सबैको एकताबद्ध भूमिका आवश्यक रहेको बताउनुभयो।

भेलाबाट युवा संघ नेपाल (समाजवादी) को नयाँ जिल्ला कमिटीसमेत गठन गरिएको छ। जसअनुसार अध्यक्षमा रोशन बल, उपाध्यक्षमा बुद्ध पाख्रिन, सचिवमा जनम बल र उप–सचिवमा गौरव चयन भएका छन्। यस्तै, सुरेश स्याङ्तान, उमेश लामा, विकल्प स्याङ्तान, सुन्दर बल, फेन्चु लामा, दीपक बल, अमृत बल, आकाश मुक्तान, ईश्वर सम्बा र बुद्ध स्याङ्तान (जोन लामा) सचिवालय सदस्यका रूपमा चयन भएका छन्।
बुद्ध स्याङ्तान (जोन लामा)
यस्तै हेटौंडा, थाहा नगरपालिका, मनहरी, भीमफेदी, राक्सिराङ, इन्द्रसरोवर लगायत विभिन्न स्थानबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको आयोजकले जनाएको छ।
भेलाले संगठनलाई वडा तहसम्म विस्तार गर्ने, नयाँ सदस्यता अभियान सञ्चालन गर्ने र राजनीतिक प्रशिक्षण कार्यक्रम अगाडि बढाउने निर्णयसमेत गरेको छ।































