हेटौंडा । पाँचौं संस्करणको खुला नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा शुक्रबारबाट सुरु भएर शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्मृति भवनमा सम्पन्न प्रतियोगितामा टिम मकवानपुरले २६ पदक हासिल गर्न सफल भएको हो । टिम मकवानपुरले १३ स्वर्ण, ४ रजत र ९ कास्य हासिल गर्न सफल भएको बताइएको छ । प्रतियोगितामा नेसनल तेक्वान्दो एकेडेमी पहिलो हु“दा सोणितपुर तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।
इच्छा बिष्टले केरोगी, एकल पुम्से र जोडी पुम्सेमा ३ स्वर्ण पदक टिम मकवानपुरलाई दिलाउन सफल भइन् । आरुषी पराजुलीले पुम्सेमा १ स्वर्ण र केरोगीमा १ रजत जित्न सफल भएकी छन् । प्रिन्सप ढकालले जोडी पुम्सेमा १ स्वर्ण र एकल पुम्सेमा १ कास्य जितेकी छन् । रिवानी अधिकारीले टिम पुम्सेमा १ स्वर्ण, तिलक बिश्वकर्माले केरोगीमा १ कास्य, सुवर्ण न्यौपाने केरोगीमा १ कास्य र दीपन सापकोटाले केरोगीमा १ कास्य पदक जितेका छन् ।
प्रतियोगितामा हेटौंडा–१७, हटियास्थित क्रियटिभ तेक्वान्दो डोजाङबाट ८ खेलाडी सहभागी थिए । प्रतियोगितामा टिम प्रशिक्षकको भूमिका दीपन सापकोटा र टिम अफिसियलको भूमिकामा भोजराज पराजुली थिए । प्रतियोगितामा सहभागी हुनका लागि अफिसियलसहित २८ जना काठमाडौं प्रस्थान गरेका थिए । प्रतियोगितामा नेपाल, छिमेकी मुलुक भारत र बंगलादेशबाट खेलाडीहरु सहभागी भएको आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिता करिब २ सय जनाको हाराहारीमा खेलाडीहरु सहभागी भएको जनाइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई १७ नम्बर वडा कार्यालयले ३० हजार रुपिया“ बराबर ट्रयाक प्रदान गरेको थियो । राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय महासचिव राशेककुमार राईको सभाध्यक्षमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेपा) का अध्यक्ष÷मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।






























