हेटौंडा । स्थानीय सरोकारका विषय र राजनीतिक नेतृत्वबारे आम नागरिकको धारणा बुझ्न गरिएको सर्वेक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ । साक्षी पोलिङ एण्ड एनालिटिक्स नेपालले बिहीबार हेटौंडामा सरोकारवालासँग प्यानल छलफल कार्यक्रम गर्दै सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका बासिन्दासँग साक्षी पोलिङ एण्ड एनालिटिक्स नेपालले करिब एक महिनाअगाडि गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटा वडामा नमुना छनौट गरी तथ्याङ्क संकलन गरिएको क्षेत्रीय सर्वेक्षणको नतिजा र सोसँग सम्बन्धित बिषयहरुमाथि सरोकारवालाहरुसँग प्यानल छलफल भएको छ ।

कार्यक्रममा हेटौंडा अस्पतालका विषयमा र हेटौंडाबासीको राजनीतिक नेतृत्वप्रति जनताका सोच, विचार र अनुभवलाई सञ्चारकर्मी सुरेश श्रेष्ठले सरोकारवालाको दुई अलग–अलग समूहमा छुट्टाछुट्टै प्यानल छलफल सञ्चालन गर्नुभएको थियो । पहिलो समूहमा हेटौंडा अस्पतालका डा. हरि खड्का, औषधि व्यवसायी नारायणलाल श्रेष्ठ तथा हेटौंडा अस्पताल सुधार समितिका अभियन्ता विशालराज महतसँग सञ्चारकर्मी श्रेष्ठले सर्वेक्षणको नतिजा र अस्पताल सञ्चालनका सम्बन्धमा उठ्ने गरेका सवालहरुबारे छलफल गर्नुभएको हो ।
छलफलमा डा. खड्काले अस्पतालमा कर्मचारीबाट प्राविधिकरुपमा त्रुटीहरु हुने गरेको स्वीकार गर्दै पहिलेभन्दा हेटौंडा अस्पताल सुधारोन्मुख रहेको बताउनुभयो । अभियन्ता महतले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान एकै संस्थाको रुपमा हुँदा बेथिति बढेको र केही राजनीतिक दलको झुण्ड भर्ना गर्ने स्थान भएको बताउनुभयो । उहाँले भ्रष्टाचार तथा अनियमिततातर्फ अस्पताल अघि बढिरहेको बताउनुभयो । सर्वेक्षणको नतिजामा हेटौंडाबासीले अस्पताल जसको मातहतमा भए पनि फरक नपर्ने तर सेवा सुविधामा सुधारको अपेक्षा राखेको पाइएको छ ।

दोस्रो चरणको छलफलमा हेटौंडाको नेतृत्वप्रतिको धारणाबारे हेटौंडाबासीमा गरिएको सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै सरोकारवालासँग छलफल गरिएको थियो । दोस्रो छलफलमा वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, हेटौंडा वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल र युवा अभियन्ता प्रसुज मैनालीको सहभागिता थियो । सर्वेक्षणमा हेटौंडाबासीले आगामी निर्वाचनमा पुराना दलका भन्दा फरक व्यक्तिगत गुण र उद्देश्य भएका नेतृत्वको खोजी गरेको नतिजा सार्वजनिक भएपछि छलफलमा उक्त विषय पेचिलो बन्न पुगेको थियो ।
छलफलमा बोल्दै वरिष्ठ अधिवक्ता काफ्लेले मूलधारका राजनीतिक दलहरुसँग जनताले गरेको अपेक्षा पूरा नहुँदा दलप्रति चासो घट्दै गएको बताउनुभयो । वडा नम्बर ११ की वडा अध्यक्ष दाहालले आफू सर्वपक्षीय भएर काम गर्न हरसम्भव प्रयास गरिरहेको भएपनि कतिपय जनप्रतिनिधिहरुले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको बताउनुभयो । युवा अभियन्ता मैनालीले युवाहरुलाई राज्यले हरेक तहहरुमा समेटर अघि बढ्नसके अहिलेको शासन प्रणालीले नै नेपालको समृद्धि सम्भव भएको बताउनुभयो ।

साक्षी पोलिङ एण्ड एनालिटिक्स नेपालले गत जेठ २४ गतेदेखि असार ४ गतेसम्म हेटौंडाका सबै वडाका समुदायहरुबाट प्रत्यक्षरुपमा जानकारी संकलन गरेको थियो । हेटौंडा अस्पतालबारे पछिल्लो समय चर्चामा आएका विषय तथा सवालहरुका बारेमा हेटौंडाका सबै वडाहरुबाट नमुना छनोटमा परेका एक हजार ९३ जनासँग अन्तरवार्ता, प्रश्नोत्तर, छलफललगायतका माध्यमबाट गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको हो । नमुना छनोटमा परेका व्यक्तिहरुसँग राजनीतिक नेतृत्वबारे आम धारणा समेट्ने प्रश्वावली तथा अन्तरवार्तामार्फत् गरिएको नतिजा प्रतिवेदनमा समावेश गरिएको छ ।
































