स्वास्थ्य मन्त्री थापाको एक वर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि अस्पताल स्तरोन्नतिसम्म

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदबहालीको एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयले विगत आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कार्यहरू र आगामी वर्षका प्राथमिकताहरू सार्वजनिक गरेको छ। हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालयको प्रतिबद्धता दोहोर्याए।

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि”, “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रमहरू प्रदेशभर सुरु गरिएको जानकारी दिँदै थापाले नीतिगत सुधार, सेवा सुदृढीकरण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

मन्त्री थापाका अनुसार, स्वास्थ्य सेवालाई जनमुखी बनाउन स्वास्थ्य सेवा ऐन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गरी प्रक्रिया अगाडि बढाइएको छ। स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा अनुमति प्रणालीलाई अनलाइनबाट सेवा प्रवाह गरिने व्यवस्था गरिएको छ।

दुर्गममा विशेषज्ञ सेवा
दुर्गम जिल्लाहरू—रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक—मा विशेषज्ञ चिकित्सक प्रोत्साहनसहित खटाइएको र अब काठमाडौं धाउन नपर्ने व्यवस्था गरिएको मन्त्री थापाले बताए।

आयुर्वेद र योगको प्रवर्द्धन
प्रदेश सरकारले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने योजनाअन्तर्गत २१ प्रकारका आयुर्वेदिक औषधिहरू उत्पादन गर्ने तयारी गरेको छ। यसअघि ११ प्रकारका औषधिहरू उत्पादन हुँदै आएको थियो। साथै, प्रदेश योग समिति गठन गरी योग, ध्यान र प्राणायाममा गुणस्तरीयता र वैधानिकता दिने कार्य सुरु गरिएको छ।

अस्पताल सेवा स्तरोन्नति
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत एमबिबिएस, बिएमएलटी, बिएससी नर्सिङ, बिफार्मा, एमडीजस्ता विषयको पठनपाठन सञ्चालन भइरहेको छ। प्रतिष्ठान अन्तर्गत हेटौंडा र भक्तपुर अस्पतालमा ३०० शैयासहितका सेवा, सिन्धुली, धादिङ, नुवाकोटमा १०० शैया, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा ५० शैयाको र रसुवा, टोखा, बज्रबाराहीमा २५ शैयासहितको अस्पताल सञ्चालनमा छन्।

यी अस्पतालहरूमा इएमआर/ईएचआर, एमएसएस सेवा मापदण्ड, क्लिनिकल अडिट र डिजिटल प्रणाली लागू गर्दै सेवा विस्तार भइरहेको मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिइन्।

सुत्केरी उद्धारदेखि जेनेटिक रोगसम्म
गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइएको छ। त्यस्तै, अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया जस्ता अनुवांशिक रोगहरूको निःशुल्क उपचार कार्यक्रम पनि संचालनमा रहेको छ।

विपन्न, अपाङ्ग, लोपोन्मुख जाति र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी बीमा र सम्मान कार्यक्रम निरन्तर संचालन भइरहेको छ।

कानुनी र प्राविधिक संरचना बलियो
हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत ४६ वटा संस्थागत संरचना रहेका छन्। मन्त्रालयले ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत कानुनी तथा प्राविधिक दस्तावेजहरू निर्माण र संशोधन कार्यलाई गति दिएको छ।

मदन भण्डारी प्रतिष्ठान हेटौंडामा मुटु रोग उपचार सेवा सुरु भइसकेको छ भने भक्तपुरमा मस्तिष्क रोगसम्बन्धी सेवा विस्तार गरिने तयारी छ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, आपूर्ति ब्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरलगायतको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.