मकवानपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट, चालु आर्थिक वर्षमा २८८६ मुद्दा टुङ्गियो

हेटौँडा । जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा आफ्नो वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ। अदालतले चालु आर्थिक वर्षमा २ हजार ८ सय ८६ मुद्दा फछ्र्यौट गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

जिल्ला अदालतले चालु आर्थिक वर्षका लागि २ हजार ७ सय ३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यभन्दा १ सय २९ मुद्दा बढी फछ्र्यौट गर्न अदालत सफल भएको हो। अदालतकी श्रेस्तेदार रोशी भण्डारीका अनुसार चालु आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले कुल मुद्दामध्ये ६९.११ प्रतिशत फछ्र्यौट गरेको छ भने वार्षिक लक्ष्यको आधारमा १०४.७१ प्रतिशत लक्ष्य प्राप्ति गरेको छ।

भण्डारीका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५ सय ९७ मुद्दा र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५ सय ५३ मुद्दा गरी जिल्ला अदालतमा कुल ४ हजार १ सय ५० मुद्दा थिए। अहिले १ हजार २ सय ८२ मुद्दा अझै फछ्र्यौट हुन बाँकी छन्। तीमध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा रहेका छन्।

बाल इजलासमा परेको ९४ मुद्दामध्ये ७० मुद्दा फछ्र्यौट भइसकेको छ। यसैगरी, कसुरजन्य अपराधमा असुल गर्नुपर्ने क्षतिपूर्ति रकम १ करोड ६६ लाखमध्ये अदालतले १ करोड ५४ लाख असुल गरेको छ। २७ जना पीडितले क्षतिपूर्ति उपलब्ध गराइदिन निवेदन दिएकोमा १८ जनालाई पीडित राहत कोषबाट १ करोड १५ लाख क्षतिपूर्ति दिइएको छ। पिडकबाट ३८ लाख २० हजार रुपैयाँ पीडितलाई दिलाइएको छ भने ९ जना पीडितले क्षतिपूर्ति वापतको रकम अझै लिएका छैनन्। उनीहरूलाई १२ लाख ९० हजार दिन बाँकी रहेको श्रेस्तेदार भण्डारीले बताउनुभयो।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईका अनुसार मकवानपुर जिल्ला अदालतमा लागूऔषध, सम्बन्ध विच्छेद, चेक अनादरका मुद्दा बढी आउने गरेका छन्। जिल्ला अदालत मकवानपुरमा हाल ४ जना न्यायाधीश र श्रेस्तेदारसहित ६० जना कर्मचारी कार्यरत छन्, जसमा २६ जना महिला रहेका छन्। न्यायाधीश र श्रेस्तेदार पनि महिला नै रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.