हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालको मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्नुभएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयनमा ल्याइने यो परियोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण गरिनेछन्।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शैयाको अस्पताल निर्माण गर्ने योजना रहेको छ। यसको पहिलो चरणमा १५ शैयाको अस्पताल निर्माण सुरु भइसकेको छ।
निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माण कार्य अघि बढाइनेछ। कुल लागत मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ रहेको छ।
अस्पताल भवनको पहिलो चरणको निर्माण सम्पन्न भएपछि अन्तरङ्ग सेवासँगै बहिरङ्ग सेवा पनि सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. प्रयास बिडारीले जानकारी दिनुभयो।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का लगायतको उपस्थिति रहेको थियो।



































































