हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्न तथा उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दुईदिने रोजगार प्रवद्र्धन मेला सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र उद्योग संघ मकवानपुरको सहकार्यमा आयोजित मेलामा करिब १२ सयभन्दा बढीले अवलोकन गरेका छन्।
मेलामा हेटौंडा औद्योगिक क्षेत्रका ठूला उद्योगदेखि स्थानीय लघु उद्यमका उत्पादनहरुको समेत प्रदर्शनी गरिएको थियो। पिप्ले पोखराकी विष्णुकुमारी राईले सञ्चालन गर्दै आएको काष्ठ हस्तकला उद्योगका उत्पादन समेत प्रदर्शनीमा राखिएका थिए। उनले यस किसिमका मेला र महोत्सवले उत्पादनको ब्राण्डिङ र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। “पहिले हामी उत्पादन गरेका सामग्री बेच्नै नसकेर व्यवसाय नै बन्द गर्ने अवस्था आउँथ्यो, अहिले भने हाम्रो काष्ठकलाका सामग्री विदेशसम्म पुग्न थालेका छन्,” राईले भनिन्।
मेलामा रोजगारका लागि फारम पनि खुलाइएको थियो। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार करिब १ सयभन्दा बढीले रोजगार फारम भरेका छन्। “सीप भएका तर रोजगारदाता कम्पनी फेला नपारेर बेरोजगार बसिरहेका नागरिकलाई लक्षित गरेर यो मेला आयोजना गरिएको हो,” गौतमले बताए। अब फारम भर्नेहरूलाई उनीहरूको सीप र योग्यताका आधारमा उद्योग र संस्थासँग समन्वय गरी रोजगारीमा जोडिने नगरपालिकाको योजना छ।
नगरप्रमुख मिना कुमारी लामाले पनि मेलाको महत्व झल्काउँदै भनिन्, “पहिले महिलाले सुरु गरेका साना उद्योगलाई कसैले मूल्य दिदैनथ्यो, अहिले त घरको एउटा कोठाबाट सुरु गरिएको काम उद्योग भएर विदेशसम्म सामान पठाइरहेका छन्। यसले नगरमा रोजगारी सिर्जना भएको स्पष्ट देखाउँछ।”
उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज भट्टले भने मेला एक दिनको मात्रै भएकाले छोटो भएको गुनासो पनि आए पनि आगामी वर्ष तीन दिनसम्मको मेला आयोजना गर्ने तयारीमा रहेको बताए।
मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गर्दै बेरोजगार युवालाई रोजगारीमा जोड्न मन्त्रालयले बजेट विनियोजन गरेको जानकारी दिए। “विभिन्न क्षेत्रमा तालिमसहित युवाहरुलाई रोजगारी प्रदान गर्न बजेट छुट्याइएको छ,” मन्त्री महर्जनले बताए।
रोजगार प्रवद्र्धन मेलामा कूल ५१ वटा स्टल राखिएका थिए। ती स्टल राख्ने उद्योगहरुले मेलामा फारम भरेका सीपयुक्त युवाहरुलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन्। यसका लागि उद्योग संघ मकवानपुरले समन्वयको भूमिका खेल्ने बताइएको छ।
यसरी हेटौंडामा सम्पन्न रोजगार प्रवद्र्धन मेला उद्योग र बेरोजगार दुवै पक्षलाई लाभ पुग्ने आशा गरिएको छ। नगरपालिकाले बेरोजगारको संख्या घटाएर सीपअनुसारको रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ।






























