रोजगारीको अवसर नदेखेर युवा विदेश पलायनमा : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारीको क्षेत्र पहिचान गर्न नसक्दा प्रदेशका युवा विदेशिन बाध्य भएको बताउनुभएको छ।शनिबार हेटौँडामा सम्पन्न बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सीप महोत्सवको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लामाले रोजगारका अवसर थाहा नपाएर युवाहरु अलमलिँदै विदेश पलायन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।

“उद्योगधन्दा बिना रोजगारी सिर्जना हुन सक्दैन,” उहाँले भन्नुभयो, “उद्योग फस्टाउन नसके रोजगारीको वातावरण पनि बन्न सक्दैन।” साथै, सरकारी क्षेत्रलाई सेवा प्रदायकको रूपमा मात्र हेर्नुपर्ने उल्लेख गर्दै उहाँले रोजगारीका लागि निजी उद्योग र उद्यमलाई संरक्षण र प्रोत्साहन गर्न सरकार खुकुलो नीति लिनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री लामाले उद्योग क्षेत्रको विकासका लागि सरकार, कर्मचारी, नागरिक र राजनीतिक दल सबै जिम्मेवार बन्नुपर्ने औंल्याउँदै उद्योगलाई अपनत्व नलिएसम्म फस्टाउन नसक्ने बताउनुभयो। साथै, लगानीकर्तालाई आकर्षित गर्न सरकार सक्षम बन्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सीपलाई उद्योगमा रूपान्तरण गरी उद्यमशीलता प्रोत्साहन गर्न प्रदेश सरकारले उद्योग दर्तामा ७५ प्रतिशत छुट दिएको जानकारी दिनुभयो। साथै, आगामी वर्ष नमुना स्वरूप दुई जिल्लाका उद्यमीलाई विद्युत महशुलमा छुट दिने योजना रहेको बताउनुभयो।

मदन भण्डारी राजमार्गलाई औद्योगिक करिडोरका रूपमा विकास गर्न रकम अभावका कारण हालसम्म नसकेको भए पनि बजार विकास प्रवर्द्धनका लागि भने बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो। साथै स्वदेशमै उत्पादित वस्तुको अनिवार्य प्रयोगको नीति लिएको जानकारी दिनुभयो।

असार १२ र १३ गते सञ्चालित सीप महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोकका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालित शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन विषय अध्यापन गर्ने ९ वटा शिक्षालय सहभागी थिए।

सूचना प्रविधितर्फ बुढानिलकण्ठ माविका विकास भण्डारी, अटोमोबाइल इन्जिनियरिङतर्फ पनौति बहुप्राविधिक शिक्षालयका धनबहादुर तामाङ र होटल व्यवस्थापनतर्फ विपिका थापा मगर प्रथम बन्न सफल भए। उनीहरुलाई प्रशंसापत्रसहित जनही १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम इन्स्योर परियोजना (हेल्भेटास नेपाल) को प्राविधिक सहयोगमा सञ्चालन भएको हो। साथै होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन र सिटिइभिटीको समेत सहकार्य रहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.