हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीय संरचनापछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभएको छ। शनिबार हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा एकल अधिकारका रुपमा काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेशका १३ वटा प्रादेशिक अस्पताल क्रमशः सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै विगतमा संघ सरकारको मातहत रहेका अस्पतालहरु अहिले डाक्टर र नर्स उत्पादन गर्ने शैक्षिक थलोमा परिणत भएको जानकारी दिनुभयो।
मुख्यमन्त्री लामाले हेटौँडा अस्पतालको ३ सय बेडको भवनबाट सेवा सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै यसले बाहिरी जिल्लाका बिरामीहरुलाई समेत सहज सेवा उपलब्ध हुने बताउनुभयो। साथै, प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिहरुले आफ्नो दक्षता देखाएर प्रदेशको मात्र होइन, देशकै गौरव बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्र आएपछि डाक्टर पढ्न विदेशीने बाध्यता अन्त्य भएको उल्लेख गर्दै अहिले देशमै प्रतिष्ठान र विश्वविद्यालयमार्फत डाक्टर, इन्जिनियर उत्पादन हुन थालेको बताउनुभयो।
त्यसै अवसरमा बोल्दै प्रतिष्ठानका संस्थापक कुलपति तथा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्म नबुझ्नेहरुले प्रतिष्ठान र हेटौँडा अस्पतालबीच अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले विगतमा प्रतिष्ठानले धेरै मुद्धा मामिला झेलेर वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै अहिले प्रतिष्ठान विवादमुक्त भएको बताउनुभयो। साथै कसैले पनि प्रतिष्ठानको विषयमा द्विविधा नराख्न आग्रह गर्नुभयो।
यस्तै, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेशको औचित्य पुष्टि गर्न प्रतिष्ठान र विश्वविद्यालयहरुले ठूलो भूमिका खेलेको बताउनुभयो। प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाको अनुपस्थितिमा सो जिम्मेवारी समेत सम्हालिरहनुभएका मन्त्री महर्जनले प्रतिष्ठान व्यवस्थित गर्न आवश्यक कानुन संशोधन समेत गरिएको जानकारी दिनुभयो। साथै भुगोलको दृष्टिले हेटौँडा उपयुक्त भएकोले यसलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदिप ज्ञवालीले प्रतिष्ठानको वार्षिक गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार प्रतिष्ठानले यस वर्षदेखि ८ सिटमा स्नातकोत्तर तहका ७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। नवआगुन्तक एमडि र एमएस तर्फका ८ जना विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो। हाल प्रतिष्ठानमा ३ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइएकाे थियाे ।



































































