हेटौंडामा विश्व वातावरण दिवसको सन्दर्भमा ‘प्रकृति सम्वाद यात्रा’ सम्पन्न

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विश्व वातावरण दिवस–२०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘प्रकृति सम्वाद यात्रा’ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा हेटौंडा क्षेत्रका विभिन्न विद्यालय र बाल क्लबहरूबाट ७५ जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्रको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। वातावरणीय संरक्षण सम्बन्धी संवादात्मक शिक्षा प्रदान गरिएको कार्यक्रममा वन विज्ञान संकायका विद्यार्थीहरूले सहजीकरण गरेका थिए।

उनीहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तनलगायतका विषयमा जानकारी गराएका थिए।

प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हेटौंडा उपमहानगरपालिकाले वातावरणमैत्री नीति तथा व्यवहारमा जोड दिँदै आएको छ। यस्ता बालमुखी अभियानहरूले वातावरणप्रतिको व्यवहारिक ज्ञान दिन्छन्, जुन दीर्घकालीन रूपमा फलदायी हुन्छ।”

कार्यक्रम अध्यक्ष अधिकारीले भने, “बालबालिकाहरूको सक्रिय सहभागिताले भावी पुस्तामा वातावरणप्रतिको चासो र जिम्मेवारीको संकेत दिएको छ। स्वच्छ, हरित र दिगो वातावरण निर्माणमा यस्ता कार्यक्रमले चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।”

कार्यक्रममा समिति उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, सदस्यहरू पुन्यवती घिमिरे, सुरेश लामिछाने, उर्मिला राना मगर, कमला पौडेल, लिना बरूवाल, माया पौडेल, हरीगोपाल सापकोटा लगायतको उपस्थिति रहेको थियो। साथै सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बाँनिया र एनआईसिय हेटौंडाका निश्चल भट्टको पनि सहभागिता थियो।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि (सोमबार) बिहान ७ बजे हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा विशेष कार्यक्रमको आयोजना गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। कार्यक्रममा खाली प्लास्टिकका बोतल साटेर फलफूलका बिरुवा वितरण गरिनेछ, जसको उद्देश्य प्लास्टिक व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्नु र वातावरण संरक्षणको सन्देश फैलाउनु रहेको छ।

सहभागी बालबालिकाहरूका अनुसार कार्यक्रममा सहभागी भएर उनीहरूले वातावरणप्रतिको आत्मीयता र जिम्मेवारीबोध विकास गरेको अनुभव गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.