साहित्य संगमले हेटौंडामा ८ स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । साहित्य संगम मकवानपुरले जिल्लाका आठ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। संस्था स्थापनाको ३५५औं नियमित साहित्य सन्ध्या तथा ‘संगम साहित्य उत्सव २०८२’ को अवसरमा उनीहरूलाई सम्मान गर्न लागिएको हो।

संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ १० गते शनिबार हेटौंडास्थित पार्टी प्यालेसमा आयोजना हुने विशेष कार्यक्रममा विभिन्न विधामा सक्रिय स्रष्टाहरुलाई सम्मान गर्ने जानकारी दिएको हो।

साहित्य संगमका सचिव मनोज पोखरेलका अनुसार ‘मकवानपुर साहित्य श्री सम्मान २०८१’ बाट राजकुमार लामिछानेलाई रु १५,५५५ सहित सम्मान गरिनेछ। यस्तै, ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१’ बाट टीका आत्रेय, ‘विनोद सुनिता सुवेदी सम्मान २०८१’ बाट रामकुमार एलन (रु ११,१११), र ‘दिपक मुडभरी स्मृति सम्मान २०८१’ बाट समिर पाख्रिन (रु १०,०००) लाई सम्मान गरिनेछ।

त्यसैगरी, ‘मङ्गलादेवी स्मृति सम्मान २०८१’ बाट वबि थापा, ‘मुक्तितारा सम्मान २०८१’ बाट यश लामा, र ‘रामहरि देवु सम्मान २०८१’ बाट मसान उपासक (प्रत्येकलाई रु १०,०००) सहित सम्मान गरिनेछ।

सबैभन्दा ठूलो पुरस्कार ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०/०८१’ को रूपमा अभय श्रेष्ठलाई रु २५,००१ नगदसहित प्रदान गरिनेछ।

साहित्य उत्सवको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको प्रवर्द्धन रहेको छ। कार्यक्रम सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डि.बि. बर्तौलाका अनुसार, उत्सवको उद्देश्य मकवानपुरको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा सिर्जनशील चेतना र साहित्यिक भावना विकास गर्नु हो।

कार्यक्रममा सम्मानित स्रष्टाहरूले आफ्ना रचना वाचन गर्ने छन् भने ‘सपना र सम्भावना : सिर्जनामा नयाँ पुस्ता’ र ‘कविता : युगको प्रतिबिम्बन’ विषयमा प्यानल डिस्कसन समेत आयोजना गरिने अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.