हेटौंडा । हेटौंडा-फापरबारी सडक खण्ड अन्तर्गतको दुई महत्वपूर्ण स्थानमा निर्माण सम्पन्न भएका कल्भर्ट पुलहरुको उद्घाटन गरिएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ६ र ७ जोड्ने हरियाली क्षेत्रमा तथा वडा नं. ८ ॐ नगर खहरे क्षेत्रमा निर्माण गरिएका दुबै पुलको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ तथा सम्बन्धित वडाध्यक्ष र सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको हो।
वडा नं. ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ भने वडा नं. ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न गरिएको हो।
हेटौंडा उपमहानगरपालिकाका अनुसार पुल निर्माण कार्य निर्धारित समयसीमा भित्रै सम्पन्न गरिएको छ, जसले वर्षातको समयमा भेलका कारण हुने आवतजावतको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
स्थानीयवासीले लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका थिए। अब भने सुरक्षित र सहज आवतजावतको सुविधा मिल्ने भएपछि स्थानीयहरू खुसी भएका छन्।