मकवानपुर । येसु ख्रिष्टको पुनरुत्थानको सम्झनामा हेटौंडामा इसाई समुदायले पुनरुत्थान दिवस (Easter Sunday) मनाएका छन्। पदमपोखरी संयुक्त मण्डली र पाष्टर एकता संगतिको संयोजनमा हेटौंडा उपमहानगरपालिका–१२ र १३ स्थित विभिन्न चर्चहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा भजन, प्रार्थना, बाइबल शिक्षण तथा येशूको पुनरुत्थान सम्बन्धी सन्देश प्रस्तुत गरिएको थियो। उपस्थित भक्तजनहरूले येशूप्रति आस्था प्रकट गर्दै आपसी प्रेम, मेलमिलाप र खुसी साटासाट गरेका थिए।
सहभागीहरूले पुनरुत्थानको सन्देशलाई समाजमा प्रेम, शान्ति र क्षमाको भावना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै दिन, नेपालभरका विभिन्न स्थानमा पनि इसाई समुदायले विशेष कार्यक्रमहरू गरी पुनरुत्थान दिवस मनाएका छन्। ख्रीष्टियन धर्मशास्त्रअनुसार, येशू ख्रीष्ट गाडिएपछि तेस्रो दिन पुनर्जीवित हुनुभएको विश्वास गरिन्छ, जसले मानव जातिलाई आशा, मुक्ति र पुनर्जन्मको सन्देश दिन्छ भन्ने विश्वास इसाई समुदायमा छ।