पत्रकार हत्याको दोषीमाथि कारबाहीको माग गर्दै मकवानपुरमा ज्ञापनपत्र

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाले पत्रकार हत्यामा संलग्न दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।

महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। त्यसैगरी, मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन्।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री तामाङले पत्रकार तथा सञ्चारमाध्यममाथिको आक्रमण निन्दनीय रहेको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महासंघको माग गृहमन्त्रालयसम्म पुर्‍याइने जानकारी दिँदै दोषीमाथि कारबाहीका लागि आफू प्रतिबद्ध रहने आश्वासन दिए।

नेपाल पत्रकार महासंघले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघका उपाध्यक्ष हुमागाईका अनुसार घटनामा संलग्नलाई शीघ्र कानुनी कारबाही गर्न र ज्यान गुमाएका पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

महासंघले विगतमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कारबाही गर्न आग्रह गर्दै आएको छ। बागमती प्रदेश समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाका लागि सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ।

महासंघ केन्द्रिय समितिको सर्कुलर अनुसार मकवानपुरमा चैत १७ गते पत्रकारहरुले पत्रकार हत्या, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुमाथि आक्रमणको विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.