हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित बासुदेवमार्ग मिचेर पर्खाल निर्माण गरेको आरोपमा संरचना भत्काउन वडाले १५ दिने सूचना जारी गरेपछि घरधनी चिन्तित अवस्थामा छन् ।
कित्ता नम्बर–२३३१ मा नक्सा पास नगरी संरचना बनाएको भन्दै पक्ष–विपक्षबीच छलफल नै नगरी एक्कासि संरचना भत्काउन सूचना जारी भएपछि पीडितले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन् । शिवकुमारी पाठकको नाममा रहेको घरजग्गा उल्लेख नगरी बोलचालको भाषा प्रयोग गरेर अर्जुन न्यौपाने तथा सीमा न्यौपानेको नाममा सूचना जारी गरिएको छ । उक्त नाममा कुनै घरजग्गा नभएको पीडितले जानकारी गराएका छन् ।
‘म जन्मेको ५७ वर्ष भयो र यस ठाउँमा बसोबास गरेको । आफ्नो घरअगाडि १२ मिटर बाटो कायम छ । हामीले घर १ वर्ष लगाएर बनायौं । त्यस अवधिमा स्थानीय सरकारले स्वीकृति दिएको हो । कसैले केही भनेनन् । हाल एक/दुई जनाले उजुरी दिएको भन्दै हामीमाथि व्यक्तिगत् दुष्मनी साँधियो,’ अर्जुनले दुःखेसो पोखे ।
‘हामीले पैतृक सम्पत्तिमा घर बनाएका हौं । हामीले जग्गा मिचेर केही गरेका छैनौं । संगम चोकदेखि हेर्ने हो भने ८ मिटर बाटो छ । धेरैले मापदण्डबिना संरचना बनाएका छन् । उनीहरुलाई वडाले केही भनेका छैन । हामीमाथि भने पटकपटक विभिन्न बहानामा दुष्मनी साँध्दै आएका छन्,’ शिवकुमारी पाठकले भनिन् । ‘संरचना हाम्रोमात्र भत्काउनुपर्ने कारण के,’ उनले प्रश्न गरिन् । हामी अन्यायमा पर्यौं । न्याय माग गर्दछौं,’ उनले भनिन् ।