मकवानपुर । हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसले आफ्नो ३५ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। क्याम्पसले साताव्यापी रूपमा अतिरिक्त क्रियाकलाप सप्ताह आयोजना गरी विजयी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।
मङ्गलबार सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले शिक्षा क्षेत्रको विकासलाई देशको समग्र विकासको आधारस्तम्भ बताउँदै सामुदायिक शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
हेटौँडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसको मकवानपुर जिल्लाको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै सामुदायिक क्याम्पसहरूमा सरकारी लगानी वृद्धि आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।
यस अवसरमा शिक्षक सेवा आयोगको प्राथमिक तहको परीक्षा उत्तीर्ण गर्दै १ नं. नाम सिफारिसमा पर्न सफल क्याम्पसकी छात्रा एलिषा घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको थियो।
साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिन्टनजस्ता प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मनोज पोखेरेलले प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको जानकारी दिनुभयो।