गृहमन्त्री लेखक हेटौँडामा : सरकार लगानी मैत्री भएको दाबी

मकवानपुर । गृहमन्त्री रमेश लेखकले देशलाई समृद्धि र सुशासनतर्फ अघि बढाउन वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ। संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने सरकारको प्राथमिक लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

मंगलबारदेखि हेटौंडामा सुरू भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को उद्घाटन गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रको सहभागितासहित लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। आर्थिक गतिविधि प्रवर्द्धन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको उहाँको भनाइ छ।

व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्दै उहाँले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो। निर्माण व्यवसायीहरूलाई आफ्नो कार्यमा लगनशील रहन आग्रह गर्दै बाँकी भुक्तानीका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। साथै, व्यवसायीहरूमाथि हुने अवाञ्छित गतिविधि रोक्न सुरक्षाको प्रबन्ध गर्ने सरकारको तयारी रहेको उहाँले उल्लेख गर्नुभयो।

गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूले लिएका जिम्मेवारी गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो। महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा निर्माण उपकरण, सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्रीलगायतका ३५० स्टल समेटिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.