मकवानपुर । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को आठौं मकवानपुर जिल्ला अधिवेशन आगामी फागुन २ गते (शुक्रबार) हुने भएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै मकवानपुर क्युपेकका अध्यक्ष प्रह्लाद राईले अधिवेशनबारे जानकारी गराएका थिए। निर्माण र पर्यावरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई संगठित गर्दै आएको क्युपेक नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को एक सशक्त घटक युनियनका रूपमा क्रियाशील रहेको छ। यस संस्थाले श्रमिकहरूको हकहित र नीति निर्माणमा पहल गर्दै कार्यस्थलमा देखिने समस्या समाधानमा समेत सक्रिय भूमिका खेल्दै आएको छ।
जिल्ला अधिवेशनको उद्घाटन मकवानपुरको पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा हुनेछ। उद्घाटन समारोहमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेमभक्त महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन् भने क्युपेक नेपालका केन्द्रीय अध्यक्ष विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
यस अधिवेशनले आगामी तीन वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। हाल मकवानपुर क्युपेकमा १७५ जना प्रतिनिधि तथा ३,५०० जना साधारण सदस्य आबद्ध छन्, भने देशभर क्युपेकका सदस्य संख्या १,८७,७१७ रहेको छ। मकवानपुरमा क्युपेकको स्थापना २०६० सालमा भएको थियो।