मकवानपुर । हेटौंडा उपमहानगरपालिका राप्ती तट भुटनदेवी सामुदायिक वन स्थित फोहोर डम्पिङ साइडले नगरवासीहरुको स्वास्थ्यमा पारेको प्रभावलाई न्यूनिकरण गर्न माग गर्दै अल्टिमेटम बुझाइएको छ । डम्पिङ साईड दीर्घकालीन समस्या समाधान संघर्ष समिति हेटौंडाले हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्लाअधिकारी तिर्थराज चिलुवाल, डिभिजन वन कार्यालय हेटौंडा प्रमुख राकेश प्रसाद चन्द्रवंशी र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वा दोर्जे तामाङलाई अल्टिमेटम बुझाएको हो ।
माघ ११ गते राति आगलागी पश्चात् वायु प्रदुषण र त्यसबाट विशेषगरी आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष असरको विषयलाई लिएर समिति गठन भएको थियो । समितिका संयोजक सोमबहादुर लामाको टोलीले अल्टिमेटम पत्र बुझाउँदै समस्या समाधान नभए फोहोर फाल्न रोक लगाउने, फोहोर बोक्ने गाडीलाई रोक्ने लगायतका कार्यहरु पनि गरिने चेतावनी दिएका छन् । समितिले हेटौँडाका विभिन्न वडा कार्यलय र जिल्ला स्थित सम्पुर्ण राजनीतिक दललाई अल्टिमेटम बुझाउने योजना बनाएको समितिका संयोजक लामाले बताए ।
‘हामीले उठान गरेको विषयवस्तु हाम्रो मात्र नभएर सिंगो नगरवासीहरुको स्वास्थ्यमा पर्न गएको समस्या भएको हुनाले संघर्ष समिति सबैको सहयोगको अपेक्षा राख्दछौँ, संयोजक लामाले भने ।