हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले समृद्ध हेटौंडा बहस गर्दै हेटौंडाको विकास, सुशासन, उद्यमशीलता तथा आवासीय सहर निर्माणका विविध विषयमा व्यापक छलफल गरेको छ । एक दिवसीय कार्यक्रमअन्तर्गत् विभिन्न क्षेत्रका जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा बहस भएको हो ।
कार्यक्रमअन्तर्गत् पहिलो सत्रमा स्थानीय सरकारः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा विषयमा बहस सञ्चालन भएको छ । उक्त सत्रमा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सहभागी भइ स्थानीय तहको अनुभव, चुनौती र भावी कार्यदिशाबारे धारणा राखेका थिए ।
बहसमा स्थानीय सरकारप्रति नागरिकका बढ्दो अपेक्षा, सेवाप्रवाहमा पारदर्शिता, सुशासन प्रवद्र्धन, विकास निर्माणका प्राथमिकता तथा संघीय शासन व्यवस्थामा स्थानीय तहको भूमिकालगायत विषयमा केन्द्रित छलफल भएको आयोजकले जनाएको छ । कार्यक्रममा सिर्जनशील हेटौंडाः संघर्ष, उद्यम र उडान शीर्षकमा उद्यमशीलता र नवप्रवर्तनका विषयमा बहस भएको छ भने हेटौंडाको विकास र अबको प्राथमिकता शीर्षकमा नगर विकासका सम्भावना, पूर्वाधार निर्माण तथा दीर्घकालीन योजनामाथि विमर्श गरिएको छ ।
सुसंस्कृत, समावेशी र आवासीय सहर विषयक अन्तिम सत्रमा व्यवस्थित सहरीकरण, सामाजिक समावेशिता, सांस्कृतिक संरक्षण तथा गुणस्तरीय आवासीय वातावरण निर्माणका विषयमा छलफल भएको थियो । हेटौंडाको समग्र विकासका लागि आवश्यक नीति, योजना र कार्यान्वयनका पक्षमा साझा धारणा निर्माण गर्ने उद्धेश्यले आयोजना गरिएको समृद्ध हेटौंडा बहसले नगरको भावी विकास मार्गचित्र तय गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमको उद्घाटन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“, प्रथम मुख्यमन्त्री डोरमणि पौडेल लगायतले बोलेका थिए ।



































































