हेटौँडा । ५४ औँ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा हेटौँडा-११ मा र्यालीसहितको विशेष कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा-११, थानाभर्याङस्थित यातायात कार्यालयबाट सुरु भएको र्याली नवलपुर पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो।

उक्त कार्यक्रममा हेटौँडा-११ का १५ वटा टोल विकास संस्थाले सहभागिता जनाएका थिए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने टोल विकास संस्थाहरूलाई पुरस्कृत गरिएको थियो भने वातावरण संरक्षणमा योगदान पुर्याउने पत्रकारद्वय गोविन्दप्रसाद न्यौपाने र चन्द्र विष्टलाई सम्मान गरिएको थियो।
टोल विकास संस्था वडा समन्वय समिति, हेटौँडा-११ को आयोजना तथा वडा कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी, कार्यक्रममा नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी, गीता सुनार, नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।




































































