दोलखा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता र साना सञ्चारमाध्यमको प्रवद्र्धनमा विशेष जोड दिँदै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ। दोलखाको पर्यटकीय क्षेत्र जिरीमा चैत्र २७ र २८ गते सम्पन्न प्रदेशस्तरीय बैठकपछि ११ बुँदे घोषणा पत्र जारी गरिएको हो।
बैठकमा प्रदेश समितिका पदाधिकारी, विभिन्न जिल्लाका अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घोषणापत्रमार्फत सरकारी विज्ञापन वितरणमा देखिएका अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि भइरहेको सरकारी प्रयासको स्वागत गर्दै सम्बन्धित विकृतिहरूमाथि निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
साथै, श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ। स्थानीय तहबाट प्रवाह हुने सूचना तथा जनचेतनामूलक सामग्रीहरू स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन तथा प्रसारण हुने व्यवस्था गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ।
घोषणापत्रमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै प्रकारको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराउँदै पत्रकारहरूको पेशागत स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिइएको छ।
प्रदेश सरकारका निकायमा दर्ता भएका सञ्चारमाध्यम सम्बन्धी अन्योलता अन्त्य गर्न संघीय र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको औंल्याउँदै बागमती प्रदेश सरकारलाई सञ्चार रजिस्ट्रार कार्यालय कायम राख्न आग्रह गरिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको अभिभावक संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। पछिल्ला घटनाक्रमले महासंघको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै यसको गरिमा उकास्न केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण गराइएको छ।
बैठकले जलवायु परिवर्तनका प्रभावलाई पत्रकारिताको प्राथमिक एजेन्डा बनाउनुपर्ने निष्कर्ष निकालेको छ। विशेषगरी महिला, दलित, गरिब तथा सीमान्तकृत समुदायहरू यसबाट बढी प्रभावित हुने भएकाले उनीहरूको आवाजलाई समाचारको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसै सन्दर्भमा आदिवासी जनजाति तथा स्थानीय समुदायको ‘रैथाने ज्ञान’लाई वैज्ञानिक रूपमा अभिलेखीकरण गरी नीति निर्माण तहसम्म पु¥याउन पत्रकार समुदायले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
घोषणापत्रमा जिरी तथा आसपासका प्राकृतिक सम्पदामा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि आवश्यक पहल गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरिएको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय, नेपाल पत्रकार महासंघ दोलखा शाखा तथा स्थानीय पर्यटन व्यवसायीहरूप्रति आभार व्यक्त गरिएको छ।
बैठकको समापनसँगै सञ्चारकर्मीहरूलाई जोखिमपूर्ण रिपोर्टिङका क्रममा व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिँदै समय र जनअपेक्षाअनुसार व्यावसायिक, जिम्मेवार र स्वतन्त्र पत्रकारिता अभ्यास गर्न अपिल गरिएको छ।



































































