जागरण सहकारीको २७औँ स्थापना दिवस सम्पन्न

हेटौँडा । मकवानपुरगढी–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ स्थापना दिवस विविध र आकर्षक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। सहकारीको वार्षिकोत्सवले सदस्यहरूबीच आपसी एकता, सहकार्य र संस्थाप्रतिको विश्वासलाई अझ सुदृढ बनाएको देखिएको छ।

स्थापना दिवसको अवसरमा नृत्य तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिनुका साथै आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। नृत्य प्रतियोगितामा प्रयुक्ति सापकोटा प्रथम, जिज्ञासा चौलागाईं द्वितीय र जेनिसा श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भए भने निबन्ध प्रतियोगितामा विमर्श अधिकारी प्रथम घोषित भए।

सदस्य सम्मान कार्यक्रम अन्तर्गत मुख्य कार्यालयतर्फ आयुष सापकोटा (मकवानपुरगढी–४) र ईशा पौडेल (मकवानपुरगढी–३) उत्कृष्ट बाल बचतकर्ताको रूपमा सम्मानित भए। सेवा केन्द्रतर्फ जयल मुक्तान (हेटौंडा–१६) र पुजना मानन्धर (हेटौंडा–१७) ले सोही विधामा सम्मान प्राप्त गरे।

उत्कृष्ट नियमित बचतकर्तातर्फ मुख्य कार्यालयबाट नानु स्याङवो घलान र बलराम भट्टराई (दुवै मकवानपुरगढी–३) सम्मानित भए भने सेवा केन्द्रतर्फ रमा घिमिरे र राम सिं घलान (दुवै हेटौंडा–१६) पुरस्कृत भए।

त्यसैगरी उत्कृष्ट ऋणीतर्फ मुख्य कार्यालयबाट सीमा कुमारी चौलागाईं (मकवानपुरगढी–३) र सुबास लम्साल (मकवानपुरगढी–४) सम्मानित भए भने सेवा केन्द्रतर्फ मिना कुमारी चौलागाईं (हेटौंडा–१७) र नवराज सापकोटा (हेटौंडा–१८) पुरस्कृत भएका छन्।

जेष्ठ नागरिक सदस्य सम्मान अन्तर्गत ठुलीमाया दोङ तामाङ (मकवानपुरगढी–४), मैयादेवी महत र नोकुमारी गिरी (दुवै मकवानपुरगढी–३) लाई सम्मान गरिएको थियो।

संस्थाको उत्कृष्ट कर्मचारीको रूपमा व्यवस्थापक मेनुका दाहाललाई सम्मान गरिएको छ। उहाँले २०७२ चैत १ गतेदेखि २०७६ सालसम्म लेखापालका रूपमा र त्यसपछिदेखि हालसम्म व्यवस्थापन प्रमुखका रूपमा योगदान दिँदै आउनुभएको छ। उहाँ जिल्ला तथा प्रदेशस्तरमा समेत उत्कृष्ट व्यवस्थापकको रूपमा पुरस्कृत भइसक्नुभएको छ।

संस्थाका अध्यक्ष शत्रुघन दुलालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाखिन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो भने वडा नं. ३ का वडाध्यक्ष भागवत घिमिरे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विभिन्न सहकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरू, कर्मचारी तथा शेयर सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सरिता बराइलीले गर्नुभएको थियो।

कार्यक्रमले सहकारीप्रतिको विश्वास अझ मजबुत बनाउँदै सदस्यहरूबीच नयाँ ऊर्जा र उत्साह थपेको अध्यक्ष शत्रुघन दुलालले बताउनुभयो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.