हेटौँडा — हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन ‘पारिजात स्मृति घण्टाघर’ अन्तिम चरणमा पुगेको छ। वडा कार्यालयको लगानीमा निर्माण भइरहेको उक्त संरचनालाई हेटौँडाको नयाँ पहिचानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
साहित्यकार पारिजातको सम्झनामा निर्माण भइरहेको घण्टाघरले शहरको सांस्कृतिक र ऐतिहासिक पहिचान झल्काउने अपेक्षा गरिएको छ। वडा नम्बर–१० का अध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार सार्वजनिक स्थललाई आकर्षक, व्यवस्थित र सांस्कृतिक रूपमा समृद्ध बनाउने उद्देश्यसहित यो परियोजना अघि बढाइएको हो।
उनले हेटौँडाको मौलिकता झल्काउने संरचना निर्माण गर्ने प्रयास भइरहेको बताउँदै यो घण्टाघर शहरको पहिचान मात्र नभई मकवानपुर जिल्लाको गौरव र विकासको प्रतीक बन्ने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेशको राजधानी हेटौँडाको केन्द्रभागमा निर्माण भइरहेको घण्टाघरले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
करिब १ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो परियोजना आगामी मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा अघि बढाइएको वडा कार्यालयले जनाएको छ।



































































