हेटौँडा । हेटौँडामा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा शपथ ग्रहण गर्दै पदभार सम्हालेको छ। हेटौंडा–७ नागस्वोतीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो।
निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुंगानाले नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। सो अवसरमा अध्यक्षमा निर्वाचित राजु वाइवाले पदभार ग्रहण गर्दै संस्थालाई अझ सुदृढ, विश्वसनीय र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकाल पारदर्शिता र संस्थागत सुधारमा केन्द्रित रहने बताउनुभयो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा खडानन्द चौलागाई, सचिवमा युवराज गौतम र कोषाध्यक्षमा मोनिका पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा अम्बिका कार्की, धुर्बकृष्ण कुँवर, उर्मिला चौलागाई, सरस्वती थापा र बिजयता सापकोटा रहनुभएको छ।
त्यसैगरी, लेखा समिति संयोजकमा विष्णु प्रसाद अर्जेल निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा सौरभ अधिकारी र कुसुम रिजाल रहेका छन्। ऋण उपसमितिमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केसी सदस्यको रूपमा चयन भएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष गौतमले सहकारी संस्थाहरू स्थानीय आर्थिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र सुशासनमा जोड दिन आग्रह गर्नुभयो।
उक्त सहकारी संस्थाको २५ वर्षे इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको हो, जसलाई संस्थागत लोकतन्त्रतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



































































