हेटौँडा । हेटौँडामा नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसका अवसरमा सोमबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। बागमती प्रदेश समिति र मकवानपुर शाखाको संयुक्त पहलमा सम्पन्न उक्त प्रभातफेरी सिमाचोकबाट सुरु भई बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोकसम्म पुगेपछि पुनः सिमाचोक फर्किएर कोणसभामा परिणत भएको थियो।
कार्यक्रमको कोणसभामा बोल्दै बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा पत्रकारको हकहितको रक्षा गर्दै पेशागत मर्यादा कायम राख्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। मिडियामाथि बढ्दो दबाब र आक्रमणका बीच पनि पत्रकारले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने उहाँको भनाइ थियो।
उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारबीचको भिन्नता स्पष्ट नहुँदा पत्रकारिताको विश्वसनीयता र सुरक्षामा थप चुनौती उत्पन्न भएको बताउँदै नागरिकको हितका लागि जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा राख्नुभयो।
त्यसैगरी, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले नागरिक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पत्रकारितामा अधिकारसँगै कर्तव्य पनि जोडिने भएकाले पेशागत आचारसंहिता पालना गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रममा बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



































































