हेटौँडा । निर्वाचनको सन्दर्भमा बाल अधिकार संरक्षणलाई केन्द्रमा राख्दै हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश राजधानीमा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो।
इन्सेक, हिमाली नवीन समाज र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा निर्वाचनका क्रममा बालबालिकाको अधिकार संरक्षण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो।
कार्यक्रममा अभियानका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचन र बालअधिकारबीचको सम्बन्धबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो। उहाँले विद्यमान कानुनी व्यवस्था, बालअधिकारसम्बन्धी संवैधानिक प्रावधान, निर्वाचन आचारसंहिता २०८२ का व्यवस्था, राजनीतिक दल र उम्मेदवारको दायित्व, अभिभावक तथा स्वयं बालबालिकाको भूमिका लगायतका विषयलाई समेट्नुभयो।
प्रस्तुतीकरणका क्रममा देशभरका १० हजार ७ सय ५४ मतदान केन्द्रमध्ये ९ हजार ४ सय ३३ वटा विद्यालयमा रहेको तथ्य सार्वजनिक गरियो। त्यस्तै ९५ वटा मतदान केन्द्र स्वास्थ्य संस्थामा र १ हजार २ सय २६ अन्य स्थानमा रहेको जानकारी दिइयो। विद्यालयमा मतदान केन्द्र राख्ने अभ्यासले बालबालिकाको पठनपाठनमा अवरोध मात्र नभई उनीहरूको मनोविज्ञानमा समेत प्रभाव पार्ने भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरे।
राजनीतिक दलहरूले निर्वाचनका बेला बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने त्यसको उल्लंघन भइरहने अवस्था रहेको उल्लेख गरियो। अभियानले २०७९ सालको निर्वाचनका क्रममा बालबालिका प्रयोगसम्बन्धी १ सय १५ घटना संकलन गरेको तथ्य प्रस्तुत गर्दै प्रतिबद्धता व्यवहारमा रुपान्तरण हुनुपर्नेमा जोड दिइयो।
प्रमुख अतिथि चापागाईंले विद्यालयलाई विद्यालयकै रूपमा सुरक्षित राख्न रणनीतिक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले मतदान केन्द्रका रूपमा विद्यालय प्रयोग गर्ने अभ्यास क्रमशः हटाउँदै वैकल्पिक संरचनाको विकास गर्नुपर्ने धारणा राख्नुभयो।
हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले पनि विद्यालयको सट्टा सामुदायिक भवन, वडा कार्यालय वा सार्वजनिक सभाहल प्रयोग गर्न सकिने बताउँदै विकल्प खोज्न सबै सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिनुभयो। सुविधा र पहुँचका आधारमा विद्यालयलाई मतदान केन्द्र बनाइए पनि यसले ४–५ दिनसम्म पठनपाठन अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको धारणा सहभागीहरूको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बालअधिकार संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन सुनिश्चित गर्ने तथा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै सार्वजनिक प्रतिबद्धता जनाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष अर्जुन गौतम, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्हद लामिछाने, नेकपा एमालेका जिल्ला सचिव सिता बिष्ट तथा नेपाली कांग्रेसका प्रवक्ता अर्जुन चौलागाईंले मन्तव्य राख्दै प्रतिबद्धता व्यक्त गर्नुभयो।
राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था र सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ—निर्वाचन लोकतन्त्रको उत्सव हो, तर त्यो उत्सव बालबालिकाको अधिकारमाथि टेकेर होइन, उनीहरूको संरक्षण सुनिश्चित गर्दै अघि बढ्नुपर्छ।



































































