चुनाव लक्षित आचारसंहिता कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया

हेटौँडा । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनका विषयमा हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधिबाट आचारसंहितासम्बन्धी प्राविधिक प्रस्तुतीकरणसमेत गरिएको थियो ।

अन्तरक्रियामा सहभागीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगदेखि प्रशासनसम्मले कडाइका साथ अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो दल आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा प्रशासनतर्फबाट बोल्दै जिम्मेवार अधिकारीले पछिल्लो समय दलहरू आचारसंहिता पालनामा जिम्मेवार बन्दै गएको उल्लेख गरे । हरित नगरीका रूपमा परिचित हेटौँडामा वातावरणमैत्री निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताउँदै सरकारी सवारी साधन दुरुपयोग भए कडा कारबाही गरिने चेतावनी दिइयो । निर्वाचन अवधिमा हुन सक्ने सम्भावित तथा आकस्मिक घटनाका विषयमा प्रशासनले नियमित छलफल गरिरहेको जानकारी पनि दिइयो ।

त्यसैगरी, निर्वाचन अधिकृतले आचारसंहिता उम्मेदवारको नैतिकता, आचरण र व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पार्दै वातावरणमैत्री ढंगले प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । जात, धर्म, समुदाय वा पहिचानका आधारमा द्वेष फैलाउने गतिविधि नगर्न तथा भ्रामक र मिथ्या प्रचार रोक्न सबै पक्षको भूमिका आवश्यक रहेकोमा जोड दिइयो । विषम परिस्थितिमा हुन गइरहेको यस निर्वाचनमा अघिल्ला निर्वाचनको तुलनामा आचारसंहिता बढी व्यवस्थित रूपमा पालन हुने विश्वास पनि व्यक्त गरियो ।

मकवानपुरमा दुई निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १३ राजनीतिक दल र १० जना स्वतन्त्रसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १६ राजनीतिक दल र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.