मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो ।
चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए ।
अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्र कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो । यस चलचित्रलाई यस अघि पनि देशका विभिन्न हलहरुमा विशेष प्रदर्शन गरिएको थियो ।
चलचित्रको निर्देशन बिनायक तामाङले गरेका हुन् । प्रेम भाव, तामाङ कला संस्कृति र ऐतिहासिक कथा बोकेको चलचित्रमा नायिका संगीता तितुङको कथा रहेको छ । सन्चु लामा थोकरको छायांकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठ र सागर गोलेको नृत्य निर्देशन रहेको छ ।
चलचित्रको कार्यकारी निर्मातामा कितापसिंह घलान (किरण) रहेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी डन), सँगिता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताप सिंह घलान (किरण), नोर्बो तामाङ, किशोर श्रेष्ठ र हाँस्य कलाकार तिरे लगायतले अभिनय गरेका छन् ।
यसअघि नै ग्याल्बो राजाका २ गीतहरु नेपाली र तामाङ भाषामा सार्वजनिक भएका थिए । जसले निक्कै चर्चा समेत कमाएको थियो । ग्याल्बो राजाको ‘आम्मैले’ बोलको गीत तामाङ र नेपाली दुबै भाषामा सोही टाईटलबाट सार्वजनिक भएको थियो । त्यस्तै चलचित्रको अर्को चर्चित गीत ‘ङादा माया लाउ’ बोलको गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकबाट सार्वजनिक भएको थियो । आम्मैले बोलको गीतको दुबै भर्सनमा गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द रहेको छ ।
त्यस्तै तामाङ भाषामा सार्वजनिक भएको ‘ङादा माया लाउ’ बोलको गीतमा निमा दोङ र जीतु लोप्चनको आवाज रहेको छ । गीतमा निमा दोङको संगीत र कुमार स्याङ्बाको शब्द रहेको छ । यसै गीतको नेपाली भर्सनमा भने चर्चित गायक निमा दोङ र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । यस गीतको शब्द पनि कुमार स्याङ्बाले नै लेखेका हुन् ।

































































