मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नोे कार्यकालका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेकी छिन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्य–मुख्य कार्य विवरण समेटिएको पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तिकामा मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने शिक्षा, गरिबी निवारण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सामाजिक सुरक्षा, सीपमूलक तालिम विषयको क्षेत्रमा भएका कार्य समेटिएको छ । मन्त्री मोक्तानले आफ्नो कार्यकालमा शिक्षा क्षेत्र सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिन् ।
प्रदेशका ५० वटा सामुदायिक माध्यामिक विद्यालयमा बस खरीदमा सहयोग, ७७ वटा सामुदायिक माध्यामिक विद्यालयमा एक–एक जना मावि शिक्षक बराबर अनुदान प्रदान, १३ वटा सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण, ३६ वटा सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई प्रगति विवरण समावेश गरिएको छ । यसैगरी प्रदेशका ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भैरहेको मन्त्री मोक्तानले जानकारी दिनुभयो । चेपाङ समुदायको उत्थानका लागि प्रदेशका ६ वटा स्थानीय तहमा चेपाङ, चमेरो र च्यूरी संरक्षण कार्यक्रम सुरु गरिएको उनले बताईन् ।
मन्त्री मोक्तान दोश्रो कार्यकालमा २०७९ माघ ११ गतेदेखि २०८१ साउन ६ गतेसम्म मन्त्री रहेकी हुन् ।



































































