हेटौंडामा नेकपाले गर्यो चुनावको समीक्षा

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टीले हेटौंडामा मकवानपुर क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्यहरू र जिल्ला कमिटीका सदस्यहरूले मिलेर समीक्षा गरेका हुन्।

पार्टीका जिल्ला सचिव बिरबहादुर घलानको संयोजकत्व तथा पार्टीका केन्द्रीय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम भएको हो।

समीक्षामा बोल्दै प्रमुख अतिथि कुमारी मुक्तानले मिडियाले ट्रोल गरेर चुनाव जितेकोले आतङ्कित हुन नपर्ने बताइन्। एउटा हावाहुरी आएर माहोल हाम्रो प्रतिकूलमा गएको, त्यो ठूलो कुरा नभएको उनले बताइन्।

“चुनाव नभएको भए संविधान खारेज हुन्थ्यो र नेपाल देश कतातिर जान्थ्यो भन्ने कुरा महत्वपूर्ण थियो,” मुक्तानले भनिन्। “हामीले चुनाव गराउनुपर्छ भनेर अडान राख्यौं र चुनाव सम्पन्न भयो, जसका कारण यो देशको अस्तित्व जोगिएको छ। त्यो महत्वपूर्ण कुरा हो,” उनले थपिन्।

यसैगरी, पार्टीका अर्का केन्द्रीय सदस्य किशोर बर्तौलाले विषम परिस्थितिमा चुनाव भएको बताउँदै एउटा लहडमा अन्य पार्टीले जित्दैमा आत्तिनुभन्दा पनि आफूभित्र भएका कमजोरीलाई सच्याएर पार्टी निर्माणमा लाग्नुपर्ने कुरामा जोड दिए।

यस्तै, मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर बिष्टले चुनावी लहडका कारण आफूहरू पराजित भएको बताउँदै यसलाई स्वाभाविक प्रक्रिया भएको बताए। “कतै हामीले नसोचेको भोट पाएका छौं भने कतै नतिजा हाम्रो प्रतिकूल भयो। अब हामी सच्चिएर पार्टी निर्माणमा लागौं,” उनले भने।

हेटौंडा–४ गर्दोईमा रहेको नेकपाको पार्टी कार्यालयमा भएको समीक्षा कार्यक्रममा नेकपाका नेता तथा अगुवाहरूको उपस्थिति रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.