हेटौंडा / हेटौंडा–५ स्थित एस्टोनोभा फाउन्डेसन नेपालले हेटौंडामा समर स्टिम क्याम्प तथा तेस्रो संस्करणको एक्सपो २०८३ आयोजना गर्ने भएको छ।
सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपसँग जोड्दै विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने तथा विषयगत दक्षता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए।
उनका अनुसार आजको तीव्र रूपमा परिवर्तनशील विश्व परिवेशमा शिक्षा प्रणाली केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक सीप, नवप्रवर्तनशील सोच तथा प्रविधिमैत्री दक्षता विकासतर्फ उन्मुख हुनु अत्यन्त आवश्यक छ।
४५ दिनसम्म सञ्चालन हुने उक्त क्याम्पमा कक्षा ६ देखि माथिका विज्ञानप्रति रुचि राख्ने तथा केही गर्न चाहने विद्यार्थीहरूलाई व्यवहारिक रूपमा ज्ञान प्रदान गरिने फाउन्डेसनका अर्का सदस्य इन्जिनियर आयुष बस्नेतले जानकारी दिए।
वैशाख ९ गतेदेखि हेटौंडामा सुरु हुने कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ। नगरभित्रका विद्यार्थीहरूमा व्यवहारिक सिकाइ, वैज्ञानिक सोच, नवप्रवर्तन तथा प्रविधिको प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष बास्तोलाले बताए।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँग नलेज तथा रिसर्च पार्टनरका रूपमा सहकार्य गर्दै फाउन्डेसनले एआई, ड्रोन प्रविधि, गणित, विज्ञान, इन्जिनियरिङ र साहित्यलगायतका विषयमा प्रदर्शन, सिकाइ तथा व्यवहारिक ज्ञान प्रस्तुत गर्नेछ।
यस कार्यक्रमबाट विद्यार्थीहरूले भरपुर फाइदा लिन सक्ने फाउन्डेसनले जनाएको छ।































