हेटौँडा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा मतदान जारी रहँदा दिउँसो २ बजेसम्म १ लाख ६ हजारभन्दा बढी मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडा का प्रमुख हरि ढकाल का अनुसार उक्त समयसम्म महिला ४९ हजार ३१३ र पुरुष ५७ हजार ३५९ गरी कुल १ लाख ६६ हजार ७३ मत खसेको हो। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। त्यस्तै क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।
मकवानपुर–१ मा १६ दलीय र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने मकवानपुर–२ मा १३ दलीय र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।


































