हेटौंडा । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा कार्यालयले तेस्रो घरेलु उत्पादन प्रदर्शन मेला गर्ने भएको छ ।
माघ १६ र १७ गते हुने मेलामा नृत्य प्रतियोगिता , शैक्षिक प्रदर्शनी पनि गरिने वडाध्यक्ष फुर्वा दोर्जे तामाङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
राजनीतिक दल , टोलबिकास संस्था नगर समन्वय समिती , टोलबिकास संस्थाहरु , उद्योग वाणिज्य संघ मकवानपुर , सामुदायिक वन उपभोक्ता समुह , जाल्पादेवी महिला उद्धमी केन्द्र हेटौंडा , ढाका उद्धमी समूह हेटौंडा , सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० बसपार्क , स्थानीय क्लब , आमा समूह , सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत संघसंस्थाको समन्वय र सहकार्यमा मेला हुने वडाले जनाएको छ ।
हेटौंडा १० नम्बर वडा परिसरमा हुने मेला उपमहानगरका १९ वटा वडामा तालीम लिएर सीप सिकी उत्पादन गरेका ब्यक्तीहरुको विभिन्न किसिमका सामाग्रीहरुको बजारीकरणको सहजताको लागि आयोजना गरिएको वडाध्यक्ष तामाङले बताए । मेलामा १०० वटा स्टल रहने , उत्कृष्ट प्रदर्शन , उत्कृष्ट नृत्य गर्नेलाइ सम्मान र पुरस्कारको ब्यवस्था गरिएको वडाले जनाएको छ ।



































































