मन्त्री थापाद्वारा हेटौंडा अस्पतालको निरीक्षण

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालको सेवा प्रवाह, शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधारको निरीक्षण गरेका छन्। चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा गरिएको यस भ्रमणमा प्रतिष्ठानको आगामी योजना र तयारीबारे गहन छलफल भएको छ।

निरीक्षणका क्रममा मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटाै‌डा अस्पतालमा सञ्चालन गरिएकाे बीएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बी.फार्मा जस्ता कार्यक्रमहरूको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै अब एमबीबीएस कार्यक्रम सञ्चालनको पूर्वतयारीमा थप गति दिन सुझाव दिनुभयो। हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट ४० पुर्‍याउने तयारीसमेत भइरहेको जानकारी गराइएको छ।

उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भीमसागर गुरागाईं, निर्देशक डा. रामचन्द्र सापकोटा तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, लक्ष्मी पौडेल, पूर्वसदस्य हिरा लामा लगायत प्रतिष्ठानका अन्य पदाधिकारी, चिकित्सक र कर्मचारीहरूको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

स्वास्थ्य मन्त्री थापाले चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार सबै पूर्वाधार र शैक्षिक आवश्यकताहरू पूर्णता दिन प्रदेश सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको बताउनुभयो।

प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालले समग्र स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको भन्दै, आम जनताको सेवामा थप गुणस्तर सुनिश्चित गर्न आग्रह गर्नुभयो। जनताको गुनासो आउने प्रक्रिया स्वाभाविक रहेको भन्दै त्यसप्रति सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि आवश्यक पूर्वाधार, जनशक्ति र अन्य आधारभूत पक्षहरू तयार भइसकेको जानकारी गराउँदै अब आयोगको स्वीकृतिको मात्र प्रतीक्षा रहेको बताए।

निरीक्षण भ्रमणले प्रतिष्ठानको आगामी योजनालाई स्पष्ट दिशा दिँदै गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवातर्फको यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.